खड्का माथि कारवाहीको प्रस्ताव मन्त्रीपरिषदमा लैजाने तयारी

भाद्र २८, २०७४

आपूर्ति  मन्त्रालयले नेपाल आयल निगमको जग्गा खरिद प्रकृयामा दोषी देखिएका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का माथि कारवाहीको प्रस्ताव मन्त्रीपरिषदमा लैजाने तयारी गरेको छ ।

आपूर्ति मन्त्री शिवकुमार मण्डलले मन्त्रालयको आन्तरिक छानविनले समेत जग्गा खरिद प्रकृयामा अनियमितता भएको देखिएकोले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान लागेको जानकारी दिनुभयो । जग्गा खरिद प्रकरणका दोषी कसैले उन्मुक्ति नपाउने बताउँदै मन्त्री  मण्डलले खड्कालाई हटाउने प्रस्ताव अब बस्ने मन्त्रीपरिषद्को बैठकमा पेश गर्ने जानकारी दिनुभयो ।  आपूर्ति मन्त्रालयले हिजो जग्गा खरिद प्रकृयामा भएको घोटालाको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा पेश गरेको थियो ।

 संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले समेत चर्को मुल्यमा जग्गा खरिद गरी घोटला गरेको भन्दै कारवाही गर्ने निर्देशन दिएको छ । निगम संचालक समितिले खरिद लागतको तयारी नगरी बोलपत्र गरेको, जिल्लास्थित वडा, गाविस र मालपोत कार्यालयलाई प्रभावित गरि जग्गाको मूल्याङ्गकन बढी देखाएको ठहर संसदीय समितिको छ । 

नेपाल आयल निगमले आफनो भण्डारण क्षमता बढाउन भन्दै पहिलो चरणमा झापा, चितवन, रुपन्देही, सर्लाहीमा ९ महिना अघि जग्गा खरिद गरेको थियो ।