सम्झौता भए, कार्यान्वयन भएनन्

भाद्र २७, २०७४

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीनको पाँच दिने औचारिक भ्रमण पुरा गरि अस्ती राती स्वदेश फर्कनुभएको छ । चिनिया प्रधानमन्त्री ली खछ्याङ, समकक्षी वाङ यी लगायतका उच्च चिनिया अधिकारीहरुसँग भेटवार्ता गरेर स्वदेश फर्कदै गर्नुभएका महराले भ्रमणका बेला केही समझदारी समेत गर्नु भएको छ । नेपाल र चीनबीच पछिल्लो समय उच्चस्तरीय राजनीतिक भ्रमण र वृहत्तर हितका सम्वन्धमा सम्झौता र सहमति समेत हुने गरेका छन । तर कार्यान्वयन पक्ष भने अपेक्षित रुपमा अघि बढ्न सकेको छैन ।

पाँच दिने चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उर्जा र पर्यटनका क्षेत्रमा सहकार्यका लागि दुई बुँदे सहमति गर्नुभयो । भ्रमणकै क्रममा पेट्रोलियम पदार्थ अन्वेषण र पूर्वाधार विकासदेखि आर्थिक, शैक्षिक र सांस्कृतिक विषयले प्रथामिकता पाए । जुन यसअघि केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेका सम्झौता र सहमतिको निरन्तरता हो । भुकम्प र भारतीय नाकाबन्दी पश्चात नेपाल र चीनबीच थुप्रै सम्झौताले निरन्तरता पाएपनि प्रभावकारी कार्यान्वयनमा अघि बढ्न सकेका छैनन् । 

त्यसो त गत महिना चिनिया उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका बेला आर्थिक प्राविधिक र लगानी सहयोग प्रवर्धन सम्वन्धी तीनवटा सम्झौता भएका थिए । दुई देशबीच भएका पछिल्ला सम्झौतामा केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माण, तातोपानी नाका संचालन लगायतका बिषयहरुले प्रथामिकता पाउदै आएका छन् ।  सडक र रेल मार्गबारे प्रक्रिया अघि बढाउन चीन सहमत देखिएको छ । तर तातोपानी नाका सञ्चालनका लागि नेपालले गरेको पहलमा उपलब्धि हासिल हुन सकेको छैन । उता  चीनले अघि सारेको वेल्ट एण्ड रोड ईनिशियटिभ बिआरआई परियोजनामा नेपालले हस्ताक्षर गरेको छ । नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन हुन नसक्नुमा नेपालको राजनीतिक अस्थिरता नै प्रमुख कारण भएको विज्ञको वुझाई छ । दुई देश बीच भएका सम्झौता तथा समझदारी कार्यान्वयनमा नेपाल मात्र नभई चीनिया पक्षले पनि अपेक्षित अग्रसरता देखाएको छैन । चीनले प्रतिवद्दता गरे अनुसार कलंकी कोटेश्वर सडक खण्ड, पोखरा र गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आयोजना अलपत्र अबस्थामा छन् । त्यसैले दुवै देशको वृहत्तर हितका लागि भएका सम्झौता कार्यान्वयनलाई प्रभावकारी बनाउन दुवै मुलुक अग्रसर वन्नु आवश्यक छ ।