बाढी र डुवान पिडित अझै त्रिपालमुनी

भाद्र २६, २०७४

गत साउनको अन्तिम साता सप्तरीमा आएको भिषण बाढीले सर्वसाधारणको मात्रै एक अर्ब ४० करोड बराबरको सम्पति क्षति भएको आँकडा स्थानीय प्रशासनले सार्वजनिक गरेको छ ।

खाँडो, महुलीसहितका खोलाहरुमा आएको बाढीले सप्तरीमा सर्वसाधारणको पक्की तथा कच्ची गरी ३१ हजार १ सय ७० घर क्षतिग्रस्त भएका छन् । जसमध्ये ५ हजार १ सय ४५ घर पूर्णरुमा क्षतिग्रस्त भएका छन् भने १४ हजार ८ सय ७९ घरमा आंशिक र ११ हजार १ सय ४६ घरमा सामान्य क्षति पुगेको स्थानीय प्रशासनले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।  

बाढीमा सर्वस्व सम्पति गुमाएर बिस्थापित भएका परिवारहरु अहिलेसम्म त्रिपालमै कष्टदायी जीवन बिताईरहेका छन् भने घर फर्किएकाहरु जोखिम मौलेर क्षतिग्रस्त घरमै बसेका छन् । 

उपप्रधान मन्त्री विजय गच्छदारले तराई मधेसका बाढीपीडितहरुका लागि उचित क्षतिपूर्तिको प्याकेज ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ   ।

बाढीबाट सप्तरीमा सर्वसाधारणको एक अर्ब ४० करोडसहित सरकारी स्वामित्वमा रहेका सडक-बाटो, पुल-नहरसहितका भौतिक संरचनासमेत गरी करिब ४ अर्ब बराबरको क्षति भएकाले पुनर्निर्माणतर्फ सरकार अग्रसर हुन जरुरी छ । यसबाहेक बाढीले दर्जनौं ठाउँमा भत्काएको खोलाहरुको बाँध मर्मतसँगै स्थायीरुपमा समस्या समाधान गर्न भरपर्दो तटबन्ध निर्माण गर्नुपर्ने उत्तिकै आवश्यकता छ ।